प्रतिनिधिसभा २०८२ : नकारात्मक भोटिङ, असन्तुष्टि र क्षणिक उदयको राजनीति: साह

 

बारा: नेपालको निर्वाचन इतिहासमा नानीमैया दाहालको जित एउटा प्रतीकात्मक मोडका रूपमा स्मरण गरिन्छ। पञ्चायतकालमा बहालवाला मन्त्रीलाई पराजित गर्दै राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी दाहालको उम्मेदवारी र जित व्यवस्थाप्रतिको गहिरो जनअसन्तुष्टिको अभिव्यक्ति थियो। त्यो जित कुनै सुदृढ वैचारिक आधार वा दीर्घकालीन राजनीतिक यात्राको परिणामभन्दा बढी ‘नकारात्मक भोटिङ’ को प्रयोग थियो। नेकपा केन्द्रीय सदस्य निरंजन कुमार साहले बताएका छन्।


२०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा नेकपा (माले) लगायत पञ्चायतविरोधी शक्तिले बहिष्कारको नीति लिँदा औपचारिक प्रतिस्पर्धा सम्भव थिएन। यही सन्दर्भमा पञ्चायत व्यवस्थालाई व्यंग्य र चुनौती दिन नानीमैया दाहाललाई स्वतन्त्र उम्मेदवारका रूपमा अघि सारियो। काठमाडौंका मतदाताले उनलाई जिताएर ‘व्यवस्था कतिसम्म जीर्ण भइसकेको छ’ भन्ने सन्देश दिएका थिए। बहालवाला मन्त्री जोगमेहर श्रेष्ठलाई पराजित गर्दै दाहालले पाएको मत पञ्चायतविरुद्धको सामूहिक असन्तुष्टिको मत थियो।


तर इतिहासले देखायो-असन्तुष्टिको मतले दिलाएको जित टिकाउ हुँदैन, जबसम्म त्यसका पछाडि आफ्नै राजनीतिक दृष्टि, संगठन र वैचारिक निरन्तरता हुँदैन। २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा दाहाल पराजित भइन्। २०४६ को जनआन्दोलनपछि बहुदलको पक्षमा उभिए पनि २०५१ र २०५६ का संसदीय चुनावमा उनको उपस्थिति प्रतीकात्मकमै सीमित रह्यो।


आज प्रतिनिधिसभा २०८२ को निर्वाचन सन्दर्भमा यो इतिहास फेरि सान्दर्भिक देखिन्छ। स्थापित दल र नेताप्रति बढ्दो जनअसन्तुष्टि,   बालेन प्रतिको आकर्षण, र ‘सिस्टमलाई सन्देश दिन’ मतदान गर्ने प्रवृत्ति पुनः देखापरेको छ।  बालेनको  उदय लोकप्रिय भन्दा बढी असन्तुष्टिको तरंगमा टेकेर भएको देखिन्छ।


तर नानीमैया दाहालको उदाहरणले एउटा स्पष्ट चेतावनी दिन्छ-चुनावी जित आफैंमा अन्तिम गन्तव्य होइन। क्षणिक असन्तुष्टि र विरोधको मतले जित दिलाउन सक्छ, तर दीर्घकालीन राजनीतिक प्रभावका लागि स्पष्ट विचार, सिद्धान्त , एजेन्डा  र जनतासँग निरन्तर सम्बन्ध आवश्यक हुन्छ। प्रतिनिधिसभा २०८२ ले पनि यही प्रश्न उठाइरहेको छ- के वर्तमान उदयमान शक्तिहरू असन्तुष्टिको मतभन्दा माथि उठेर टिकाउ राजनीतिक विकल्प बन्न सक्लान्, वा इतिहास फेरि दोहोरिनेछ?



Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ