जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

 🕛२०८२पौष२८, ११:०९:२३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र तीव्र आन्तरिक ध्रुवीकरण देखिन थालेको छ भने काठमाडौं उपत्यकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रति जनआकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। जसपाका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा जसपा र नेपाली कम्युनिष्ट पार्टीबीच एकीकरण भएपछि त्यसको प्रभाव पार्टीभित्र र बाहिर दुवैतर्फ देखिन थालेको हो।


श्रेष्ठको नेतृत्वमा भएको एकीकरणलाई सकारात्मक रूपमा लिँदै जसपा नेपालभित्र रहेका नेता–कार्यकर्ताहरूमा पनि नयाँ राजनीतिक ध्रुवीकरणको पक्षमा जनमत विस्तार हुँदै गएको बताइन्छ। यही क्रममै जसपा नेपालका उपाध्यक्ष शिवलाल थापाको नेतृत्वमा रहेको ठूलो समूह आज अपरान्ह ३ बजे काठमाडौंको पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीसँग एकता घोषणा गर्ने तयारीमा छ।


राजनीतिक वृत्तमा यस घटनालाई जसपा नेपालभित्रको ‘भुँइचालो’का रूपमा व्याख्या गरिएको छ। एकपछि अर्को प्रभावशाली नेता तथा संगठित समूह नेकपातर्फ आकर्षित हुन थालेपछि मधेश केन्द्रित दलहरूमा आन्तरिक संरचना र भावी राजनीतिक दिशामा गम्भीर असर पर्ने आँकलन गरिएको छ।


अर्कोतर्फ, काठमाडौं उपत्यकामा पनि नेपाली कम्युनिष्ट पार्टीतर्फ जनलहर बढ्दै गएको देखिन्छ। राजेन्द्र प्रसाद श्रेष्ठको राजनीतिक प्रभावमा रहेका पहिचानसहितको सङ्घीयता, भाषा आन्दोलन तथा नेपाल संवत् आन्दोलनसँग आबद्ध प्रभावशाली वामपन्थी व्यक्तित्वहरू क्रमशः नेकपामा आबद्ध हुन थालेका छन्। यसले उपत्यकामा वैकल्पिक वाम राजनीति थप सशक्त बन्दै गएको संकेत गरेको छ।


त्यसैगरी, उपत्यकामा गैरन्यायिक सडक विस्तारबाट पीडित समूह, सहकारी पीडित सङ्गठनहरू तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमि नेतृत्वको समूह पनि यही पुस ३० गते नेपाली कम्युनिष्ट पार्टीमै एकीकृत हुने भएका छन्।


राजनीतिक विश्लेषकहरूका अनुसार, पछिल्ला घटनाक्रमले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको छ। विशेषगरी संघीयता, पहिचान, सुशासन र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राख्दै नेकपातर्फ बढ्दो आकर्षणले आगामी दिनमा उपत्यका र राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।।

Comments

Popular posts from this blog

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ