जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ
⌚२०८२ भाद्र २८,९:५:५१
काठमाडौं: जनता समाजवादी पार्टीका सङ्घीय अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भन्नुभयो - जेन-जी आन्दोलनको मर्म, भावना र जनादेशअनुरूप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सङ्क्रमण कालमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रतिनिधिसभाको अन्तिम बैठक बसाएर संविधान संशोधन गरी मात्र प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठन गर्नु पर्थ्यो । तर संविधान संशोधन नगरीकनै प्रतिनिधिसभा विघटन भएकाले अब पहिलाकै शासकीय स्वरूप अर्थात् संसदबाट नै प्रधानमन्त्री निर्वाचित हुने भो । जेन-जी आन्दोलनको जनादेशविपरीत पुरानै संरचना र शासकीय स्वरूपले निरन्तरता पाएकाले प्रत्यक्ष लोकतन्त्रको माध्यमबाट देशमा शान्ति, स्थीरता, सुशासन र समृद्धिका लागि अगाडि बढ्ने जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ । अर्को महत्त्वपूर्ण कुरा 'नेपालको संविधानबमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्न आवश्यक भएकाले' नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । अब प्रतिनिधिसभा विघटनका लागि प्रयोग भएको 'राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार'को विरुद्ध रिट पर्ने सम्भावना छ ।
जेन-जी आन्दोलनको जनादेशअनुरूप आन्दोलनको राप र ताप भएको बखत प्रतिनिधिसभाले नै ताजा जनादेशका लागि राष्ट्रिय सरकार गठनको आवश्यकता भएकाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरी नवनियुक्त प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष सिफारिस गरेको भए प्रतिनिधिसभा विघटनको विरुद्ध रिट पर्ने सम्भावना हुँदैनथ्यो । तर राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरेको भन्ने कुराले प्रतिनिधिसभा विघटन विवादास्पद बनेको छ । यसले गर्दा जेन-जी आन्दोलनको जनादेशलाई अदालतले उल्टाइ दिन सक्दछ । जे होस देशमा नयाँ क्रान्ति भएको छ । पुरानो प्रतिनिधिसभा र सरकार विघटन भएको छ । नयाँ प्रधानमन्त्री नियुक्त भएको छ । नवनियुक्त प्रथम महिला प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक वधाई !
स्रोत: समाजिक सञ्जालबाट सम्भार

Comments
Post a Comment