रास्वपा: राजनीतिक विचार र सैद्धान्तिक अवधारणा अस्पष्ट, एजेन्डा नभएको : साह
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विचार, सिद्धान्त र दीर्घकालीन राजनीतिक दृष्टिकोणविहीन दलका रूपमा सामाजिक सञ्जालको लोकप्रियतामा आधारित राजनीति गरिरहेको नेकपा केन्द्रीय सदस्य निरंजन कुमार साहले बताएका छन्।
संघीय खबरसँगको विस्तृत अन्तरवार्तामा साहले रास्वपाको उदयलाई “संस्थागत राजनीतिक अभ्यासभन्दा बढी सामाजिक सञ्जालको हावामा चलेको प्रवृत्ति” का रूपमा व्याख्या गरेका हुन्।
उनका अनुसार राजनीतिक दलले स्पष्ट वैचारिक आधार, कार्यक्रम र नीतिगत दिशा नबनाई केवल जनभावना र ट्रेन्डको भरमा राजनीति गर्नु दीर्घकालीन रूपमा लोकतन्त्रका लागि जोखिमपूर्ण हुन्छ।
“राजनीति कुनै क्षणिक लोकप्रियता होइन, यो सिद्धान्त, विचार र कार्यक्रमबाट निर्देशित हुनुपर्छ,” साहले भने, “रास्वपामा त्यो स्पष्टता देखिँदैन, जसका कारण नीति निर्माणभन्दा बढी प्रतिक्रिया–केन्द्रित राजनीति हावी भएको छ।”
साहले सामाजिक सञ्जाल लोकतान्त्रिक अभिव्यक्तिको माध्यम भए पनि त्यसैलाई राजनीतिक निर्णयको आधार बनाउनु गम्भीर समस्या भएको बताए। उनका अनुसार सामाजिक सञ्जालमा चल्ने बहस प्रायः भावनात्मक हुने भएकाले त्यसले राज्य सञ्चालनजस्तो संवेदनशील विषयमा अपरिपक्व निर्णयलाई प्रोत्साहन गर्न सक्छ।
अन्तरवार्तामा उनले नेपालको राजनीतिमा वैकल्पिक शक्तिको आवश्यकता स्वीकार्दै त्यसका लागि वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र जनजीविकासँग जोडिएको एजेन्डा अनिवार्य रहेको उल्लेख गरे।
“नयाँ हुनु नै वैकल्पिक हुनु होइन,” साहले थपे, “विचार, सिद्धान्त र वर्गीय दृष्टिकोणविनाको राजनीति अन्ततः पुरानै प्रवृत्तिको नयाँ रूप मात्र हुन्छ।”
उनले जनताको असन्तोषलाई सम्बोधन गर्ने नाममा सामाजिक सञ्जाल केन्द्रित लोकप्रियतामूलक राजनीति बढ्दै जानु लोकतान्त्रिक संस्थागत विकासका लागि चुनौती बन्दै गएको पनि टिप्पणी गरे।

Comments
Post a Comment