“यो चुनाव सरकार बदल्ने होइन, व्यवस्था सुधार्ने हो” :नेकपा केन्द्रीय सदस्य साह
विकास र सुशासनको कुरा धेरै दलले गर्छन्, तर व्यवहारमा किन असफल भए भन्ने लाग्छ?
साह:
मुख्य समस्या इच्छाशक्ति र प्राथमिकताको हो। विकासलाई जनताको आवश्यकता होइन, ठेक्का र कमिसनसँग जोडियो। सुशासनका कुरा भाषणमा सीमित भए। हामी विकासलाई स्थानीय उत्पादन, रोजगारी र जनजीवनसँग जोडेर अघि बढाउन चाहन्छौँ। पारदर्शिता, जवाफदेहिता र कडाइका साथ कानून कार्यान्वयन नगरी सुशासन सम्भव छैन।
संघीय खबर:
भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको ठोस योजना के छ?
साह:
भ्रष्टाचार व्यक्तिको कमजोरी मात्र होइन, प्रणालीगत रोग हो। त्यसैले हामी प्रणाली सुधारमा जोड दिन्छौँ। सार्वजनिक खरिददेखि सेवा प्रवाहसम्म डिजिटल प्रणाली, स्वतन्त्र निगरानी संयन्त्र, शक्तिशाली भ्रष्टाचार नियन्त्रण निकाय र राजनीतिक हस्तक्षेपमुक्त प्रशासन हाम्रो प्राथमिकता हो। ठूला भ्रष्टाचार काण्डमा शून्य सहनशीलता अपनाइनेछ।
संघीय खबर:
युवाहरूको रोजगारी र विदेश पलायनबारे नेकपाको दृष्टिकोण के छ?
साह:
युवाहरू बाध्य भएर विदेश गएका छन्। देशमै रोजगारी सिर्जना गर्नु राज्यको दायित्व हो। कृषि, उद्योग, सूचना प्रविधि, पर्यटन र साना उद्यममा लगानी बढाएर रोजगारी सिर्जना गरिनेछ। सीपमूलक शिक्षा र उत्पादनसँग जोडिएको नीति ल्याएर युवालाई देशमै भविष्य देखाउने हाम्रो लक्ष्य हो।
संघीय खबर:
सामाजिक न्याय र उत्पीडित वर्गका लागि नेकपाले के फरक गर्छ?
साह:
सामाजिक न्याय हाम्रो राजनीतिक दर्शनको केन्द्रमा छ। महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रका नागरिकलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म निर्णायक भूमिकामा ल्याइनेछ। अधिकार कागजमा होइन, व्यवहारमा लागू गरिनेछ।
संघीय खबर:
अन्त्यमा, मतदातालाई के सन्देश दिन चाहनुहुन्छ?
साह:
यो चुनाव व्यक्ति वा दल बदल्ने मात्र होइन, सोच र दिशाको परिवर्तन गर्ने अवसर हो। निराशा होइन, आशाको राजनीति रोज्न म सबै नागरिकलाई आग्रह गर्छु। परिवर्तन सम्भव छ, यदि हामी सचेत भएर निर्णय गर्छौँ भने।

Comments
Post a Comment