जसपा नेपालका उपाध्यक्ष र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित

 🕛२०८२ पौष २८,६:११:३४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजित भएको छ। साथै, मनिस हेल्लोकको नेतृत्वमा रहेको लिम्बुवान क्रान्तिकारी पार्टी पनि नेकपामा समाहित भएको छ।


नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेपालबाट आएका नेता–कार्यकर्तासँग पाँच बुँदे सहमति तथा लिम्बुवान क्रान्तिकारी पार्टीसँग दुई बुँदे सहमति गर्दै पार्टी प्रवेश गराएका हुन्। सहमतिमा संघीयता, पहिचान, समावेशिता, सुशासन र समाजवाद उन्मुख राजनीतिक धारालाई सशक्त बनाउने विषयहरू समेटिएको जनाइएको छ।


पार्टी प्रवेश कार्यक्रमका क्रममा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, राजेन्द्र प्रसाद श्रेष्ठ,भीम रावल लगायत शीर्ष नेताहरूले नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरे। उनीहरूले राजनीतिक एकता र वामपन्थी शक्तिहरूको ध्रुवीकरण आजको आवश्यकता भएको भन्दै साझा उद्देश्यका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।


कार्यक्रममा बोल्दै जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरले विचार, सिद्धान्त र राजनीतिक लक्ष्य मिलेकाले नेकपामा समायोजनको निर्णय गरिएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सामाजिक न्याय र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न नेकपाभित्र रहेर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।


त्यसैगरी, लिम्बुवान क्रान्तिकारी पार्टीका नेता मनिस हेल्लोकले पहिचान र अधिकारको आन्दोलनलाई राष्ट्रिय स्तरमा मजबुत बनाउन नेकपासँग एकता गरिएको उल्लेख गरे। उनले सहमतिअनुसार आन्दोलनका एजेन्डाहरूलाई संस्थागत रूपमा अघि बढाइने विश्वास व्यक्त गरे।


यस समायोजनसँगै नेकपाभित्र विभिन्न राजनीतिक धार र क्षेत्रीय आन्दोलनहरूबीच एकता थप सुदृढ हुने नेताहरूको भनाइ छ। पार्टीले यसलाई वाम–प्रगतिशील शक्तिहरूको एकतामा नयाँ ऊर्जा थप्ने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।




Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ