डा. आचार्यद्वारा १९ औं राष्ट्रिय सूचना दिवसमा नागरिकलाई सूचनाको हक प्रयोग गर्न आह्वान

🕓२०८२ भाद्र ३ मंगलबार,२:४०५९

 काठमाडौँ । राष्ट्रिय सूचना आयोगले १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको शुभकामना दिएका छन् । उनले सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने मूल मन्त्रअनुसार आयोगले नेपाली नागरिकलाई सूचनाको अधिकारबारे सचेत, सजग र जागरुक बनाउने अभियान निरन्तर जारी राख्दै आएको बताए।


डा. आचार्यका अनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ को कार्यान्वयनपछि सूचना माग र प्रवाह दुवैमा उल्लेख्य वृद्धि भएको छ। उनले भने, ‘राज्यका निकायमा सूचना अधिकारी तोक्नुपर्ने, प्रत्येक तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने बोध राष्ट्रव्यापी रूपमा फैलिरहेको छ। आयोगले अनुगमन गर्दै आएको कारणले अधिकांश निकायमा सूचना प्रवाह भइरहेको छ।’


उक्त अवसरमा आयोगले देशभर राष्ट्रिय सूचना दिवसको प्रचार–प्रसार गर्ने तयारी गरेको र संघीय, प्रदेश तथा स्थानीय सरकारका जिम्मेवार पदाधिकारीलाई मूल समारोह समितिमा सहभागी गराएको डा. आचार्यले जानकारी दिए। यसले सबै तहका सरकारमा सूचनाको अधिकार र यसलाई प्रवर्द्धन गर्ने सन्देश पुग्ने उल्लेख गरिएको छ।


उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल प्लेटफर्मको पाइलटिङ साउन १ गतेदेखि सुरु भइसकेको र स्रोत साधन व्यवस्थापन तथा सम्बद्ध पक्षको प्रशिक्षण समेत भईरहेको बताए। साथै, महालेखा परीक्षकको कार्यालयले चालु आर्थिक वर्षदेखि सूचनाको हकको कार्यान्वयन अडिटमा समेटेको हुँदा राज्यका दश हजारभन्दा बढी निकायमा सूचनाको हकको अडिट सम्भव भएको डा. आचार्यले बताए।



डा. आचार्यले यस सन्देशमार्फत नागरिकहरुलाई सूचनाको हकलाई आफ्नो मौलिक अधिकारको रूपमा प्रयोग गर्न, राज्यसँग पारदर्शिता र उत्तरदायित्व कायम राख्न, र लोकतान्त्रिक सुशासन सुनिश्चित गर्न आग्रह गरे।

Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ